काठमाडौँ ः पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ हुने भएको छ ।
बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामी फागुन १६ र १७ गते काठमाडौँमा हुने जनाएको हो । वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतीको विश्लेषण गरी अगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयको भनाई छ ।
मन्त्रालयकाअनुसार सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिनेछ ।
कार्यक्रममा श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने श्रम विश्वास व्यतm गरे । उनले श्रम बजरका लागि उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयमा छलफल गर्नुपर्ने आजको आवश्यकता भएको समेत औलाएका छन् । साथै उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानीन न्युन हुँदा मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको समेत प्रष्ट पारे ।
श्रमिकको माग न्युन हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको बताए ।
सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता तथा विज्ञ गरी ५ सय जनाको सहभागिता रहने बताइएको छ । मन्त्रालयले यसअघि पनि चार वटा श्रम तथा रोजगार सम्मेलन गरिसकेको छ ।



















