यूएईमा रहेका नेपालीका लागि राहदानी नवीकरण शिविर

नवीकरण शिविर सञ्चालनमा

नेपाली दूतावास यूएईले आबुधाबीमा विशेष काउन्टर स्थापना गरी राहदानी नवीकरण शिविर सञ्चालन गरेको छ ।

यूएईमा कार्यरत नेपालीहरूका लागि शनिबार राहदानी नवीकरण सेवा शिविर सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

दूतावासमा राहदानी नवीकरण गर्न आउने सेवाग्राहीको संख्या दिनानुदिन बढिरहेको अवस्थालाई मध्यनजर गर्दै भिसा अवधि समाप्त भइसकेका÷हुन गइरहेका र राहदानी हराएका तथा विभिन्न कारणले समस्यामा परी राहदानी नवीकरण गर्नुपर्ने अवस्था भएका नेपाली नागरिकहरूका लागि विशेष प्राथमिकता दिई शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ५८४ जना नेपालीहरूको राहदानी नवीकरणको लाइभ इन्रोलमेन्ट गरिएको दूतावासले जनाएको छ । साथै, उक्त अवसरमा कन्सुलर प्रमाणीकरण सेवा समेत उपलब्ध गराइएको थियो।

 

राहदानी नवीकरणका लागि विशेष काउन्टर सञ्चालन गर्ने कार्यमा गैरआवासीय नेपाली संघ, यूएईले स्वयंसेवक उपलब्ध गराएको थियो ।

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैं क्रियाशील र कटिबद्ध रहेको जनाएको छ ।

दूतावासले यसअघि पनि विभिन्न सार्वजनिक विदाका दिनहरूमा विशेष काउन्टर सञ्चालन गरेर यस किसिमका शिविर सञ्चालन गर्दै आएको छ । भविष्यमा पनि नेपाली नागरिकको हितलाई ध्यानमा राखी सेवा प्रवाह गर्ने दूतावासको प्रतिबद्धता छ ।