अमेरिकामा साढे १४ लाख अवैध आप्रवासी

आप्रवासीको सूची सार्वजनिक

राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने नीतिअनुसार अमेरिकाले अवैध आप्रवासीको सूची सार्वजनिक गरेको छ ।

अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा विभिन्न देशबाट अमेरिका बस्दै आएका अवैध आप्रवासीको संख्या १४ लाख ४५ हजार ५४९ रहेको उल्लेख छ।

यो संख्या गत वर्षको नोभेम्बर २४ सम्मको रहेको अध्यागमन कार्यालयको भनाइ छ। अध्यागमन कार्यालयले उनीहरुलाई देशबाट हटाउने नीति ट्रम्प सरकारको रहेको स्पष्ट पारेको छ।

अध्यागमनको तथ्याङ्क अनुसार, अमेरिकामा १ हजार ३६५ नेपाली अवैधरुपमा बसिरहेका छन्। उनीहरु पनि अमेरिकाबाट निष्काशन पर्ने छन्।

अवैध आप्रवासीमा सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ छन्। उनीहरु सबै निष्काशनमा पर्नेछन्।

यस्तै, चीनका ३७ हजार ९०८, भारतका १७ हजार ९४० जना, अफगानिस्तानका एक हजार ७०८, बंगलादेशका ४ हजार ८३७ जना, र बहराइनका १७ जना रहेको अमेरिकी अध्यागमन कार्यालयको तथ्याङ्क छ।