त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जोड्ने काम तोकिएकै दिनभित्र सम्पन्न हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जोड्ने काम तोकिएकै दिनभित्र सम्पन्न हुने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फ्लडलाइटका लागि टेन्डर आह्वान भइसकेको बताए।

उनले भने,’खेल हाम्रा युवाहरुको जीवनशैली बनेको छ। त्यसैले यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लडलाइट जोड्ने निर्णय गरेको थियो। त्यसका लागि टेण्डर आह्वान भएको छ। तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्ने गरी कामअघि बढिरहेको छ।’

यस्तै, सर्खेतमा पनि आधुनिक कर्णाली रंगशाला तयार भएको उनले बताए। विकास निर्माणका काममा ‘ब्रेक थ्रु’ भएको उनको भनाइ थियो।

उनले थपे,’रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ। देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला, यो हाम्रा युवाको भविष्यका लागि सुखद् सन्देश हो। विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौँ।’