घलडाँडामा सामूहिक गहुँखेती

तनहुँः  तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्ष अगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए । पछिल्लो समय गाउँपालिकाले पुनः गहुँ खेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ ।

यसैक्रममा गाउँपालिकाकै प्रेरणाबाट यहाँका कृषक १५ वर्षपछि पुनः गहुँखेती गर्न जुटेका छन् । स्थानीय बटुमाया गुरुङले कृषक समूह गठन गरी सामूहिक गहुँखेती गर्न थालिएको जानकारी दिइन् । घलडाँडा कृषक समूहमा आबद्ध भई कृषकले व्यावसायिक रूपमा गहुँखेती सुरु गरेको उनले बताइन् ।

हाल २० रोपनी जग्गामा सामूहिक खेती गरिएको छ । गुरुङले भनिन्, ‘विगतमा गहुँखेतीका लागि राम्रो बीउ पाउन पनि समस्या हुन्थ्यो ।कतैबाट सहयोग नपाएपछि कृषकहरू यसबाट विस्थापित भए तर पछिल्लो समय गाउँपालिकाले प्रोत्साहित गरेको छ ।बीउ र प्रविधिमा सहयोग गरेपछि हामी पुनः यसतर्फ आकर्षित भएका छौँ ।’

स्थानीय गंगा गुरुङले पनि गाउँपालिकाको प्रेरणाबाट आफूहरू गहुँखेतीमा लागेको बताइन् । उनले प्रविधि र बीउ सहयोग भएपछि सामूहिक गहुँखेती सुरु गरिएको बताइन् । स्थानीय धनबहादुर गुरुङ, लक्ष्मण गुरुङ, डम्बर गुरुङ, मीना गुरुङ, सुष्मा गुरुङलगायतले सामूहिक रुपमा गहुँखेती गरिरहेका छन् ।

गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले यहाँका कृषकहरू उत्साहका साथ गहुँखेती गर्न थालेको जानकारी दिए। यो ठाउँ गहुँखेतीका लागि उपयुक्त छ तर विगतमा बीउ र प्रविधिमा पछि पर्दा धेरैले खेती गर्न छाडेका थिए ।  हाल गाउँपालिकाले बीउ र प्रविधिमा जोडेपछि कृषकहरूले सामूहिक खेती गर्न थाल्नु भएको छ’, उनले भने ।

यसलाई निरन्तरता दिन पालिकाले निरन्तर सहयोग गर्ने केसीले बताए ।

गाउँको बाझो जमिनको उपयोगका लागि सामूहिक खेती प्रणालीको विकास र विस्तरमा आफूहरूले योजना बनाइरहेको अध्यक्ष चुमानले जानकारी दिए ।