सहयोग स्वरुप बाल क्यान्सर उपयोगी औषधि नेपालले प्राप्त गर्‍यो

काठमाडौं: नेपालले बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधि सहयोगस्वरुप प्राप्त गरेको छ ।

विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्स अन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरेको हो।

प्राप्त औषधिहरु भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुनेछन् ।

बाल क्यान्सरको निःशुल्क उपचारको लागि नेपालले प्राप्त गरेको औषधि सहयोगी दाताहरुलाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलले धन्यवाद दिएका छन् । साथै मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्याउने काम भएको भन्दै यसमा यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको समेत बताएका छन् ।

बाल क्यान्सरको निःशुल्क उपचार गर्ने  निर्णयमा यी औषधिले महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले अपेक्षा गरेको छ ।

गत मंसिर १ गतेबाट लागु हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गर्ने मन्त्रालयको मन्त्रीस्तरीय निर्णय भएको थियो ।

पहिलो खेप नेपाले पाएसङै क्रमैसँग थप औषधी उपलब्ध हुने संगठनले जनाएको छ ।