काठमाण्डौः नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार संग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले संग्रहालयको अवलोकन भ्रमण गरेका संग्रहालयकाप्रमुख जयनारायण कार्कीले जानकारी दिए । उनका अनुसार संग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू छन् ।
’गोरखा दरबार संग्रहालयमा नेपाल एकीकरणको इतिहास बुझ्न र अध्ययन गर्न पाइन्छ,’ प्रमुख कार्कीले भने, ’शैक्षिक भ्रमणका सिजनमा धेरै जिल्लाबाट यहाँ अवलोकन गर्न विद्यार्थीहरू आइपुग्छन् ।’
यस्तै, सार्क राष्ट्र र अन्य देशका पर्यटकसमेत गोरखा दरबार संग्रहालय घुम्न आउने गरेको उहाँको भनाइ छ। प्रमुख कार्कीकाअनुसार साउनयता संग्रहालयको भ्रमण गर्नेहरूमा ४३ हजार ८४८ जना विद्यार्थी छन् ।
यस्तै, ३० हजार ७०४ जना आन्तरिक, एक हजार १६६ जना तेस्रो मुलुक र ७३ जना सार्क राष्ट्रभित्रका पर्यटकले संग्रहालयको भ्रमण गरेका छन् । संग्रहालयमा पर्यटकहरूले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलगायत शाहवंशीय राजाहरूको इतिहास अध्ययन गर्न पाउने व्यवस्था छ ।
संग्रहालयमा पृथ्वीनारायण शाहको चिना, भाँडाकुँडा, मानापाथी, हातहतियार तथा विभिन्न कलात्मक सामग्रीहरू अवलोकनका लागि राखिएका छन्भनेकाष्ठकलाले भरिपूर्ण तीनमुखे झ्याल, टुँडाल, १६ वटा थामको कलात्मक बरण्डा संग्रहालयको थप आकर्षणका रूपमा रहेको छ ।
यस्तै, विभिन्न जातजातिको संस्कृति र परम्परा झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष, धार्मिक परम्परा कक्षलगायत १२ वटा प्रदर्शनीकक्ष संग्रहालयमा रहेका छन् ।
यो संग्रहालय विं स २०६५ देखि सञ्चालनमा आएको हो ।


















