काठमाडौंः मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगञ्जका निजी अस्पतालहरुको छड्के अनुगमन गरेका छन् ।
बुधबार मुख्यमन्त्री सिंह नेतृत्वको टोली वीरगञ्ज पुगेर नगरका विभिन्न ७ वटा निजी अस्पतालहरुको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा उनले वीरगञ्जस्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरलाई बन्द गर्न निर्देशन दिएका छन् ।
नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरले अनुमति नलिइ सञ्चालन गरिएका कारण अस्पताल बन्द गरिएको छ । अस्पतालमा उपचार गराईरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्णरुपमा बन्द गर्न निर्देशन दिएको छ । मन्त्री सिंहले अस्पतालमा अन्य नयाँ कुनैपनि बिरामी भर्ना नलिन र पूर्णरुपमा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।
साथै अनुगमनको क्रममा अस्पतालहरुमा फोहोरको व्यवस्थापनमा लापरवाही गरेकाले संक्रामक रोगको जोखिम बढ्न सक्ने भन्दै अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्न समेत सिंहले निर्देशन दिएका छन्।
यसैगरी मुख्यमन्त्री सिंहले वीरगञ्जस्थित बसपार्क नजिक लिंक रोडमा रहेको भवानी हस्पिटल र बाइपासमा रहेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रालिलाई नविकरण नगरेको पाइएकोले नविकरण गर्न निर्देशन दिइएको छ । श्री भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर, प्रभु हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, सर्वाेत्तम अस्पताल, आशाराम हस्पिटल, स्पर्श मल्टीस्पेस्यालिटी अस्पताल लगायत विभिन्न निजी अस्पतालहरुको अनुगमन गरिएको छ।


















