हुम्लाका विकट गाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा सञ्चालनमा

हुम्ला: वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएको छ ।
गाउँमा ‘फोरजी’सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीय खुसी बनेका छन् ।
यस अघि हरेक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेट सम्बन्धी काम गरीरहेका त्यहाँका स्थानीयले अबदेखि घरमै बसेर भिडियोकल गर्न पाएपछि खुसीको सिमा नै नरहेको हुम्ला अदानचुली
गाउँपालिका वडा नम्बर ५ का सिंह बोहराले बताएका छन् ।
दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोर जी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ ।
गाउँमा फोरजी सञ्चालनमा आएपछि स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज आएको छ ।
साथै फोरजी सेवा सुरु भएसँगै यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न समेत सहज भएको छ ।