महाशिवारात्रिको तयारी तिव्र

शुरक्षाका लागि ७ हजार सुरक्षाकर्मी परिचालित

काठमाडौंः महाशिरात्रि पर्वका लागि पशुपति परिसरमा सरसफाई, सजावट तथा अन्य काम अन्तिम चरणमा पुगेको छ ।

महाशिवरात्रि आउँन एक दिन बाँकी रहदाँ पाशुपत क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी अन्तिम अवस्थामा पुगेको हो । यो वर्ष महाशिवरात्रि १४ गते बुधवार परेको छ ।

यस वर्ष महाशिवरात्रिका लागि पशुपति विकास कोषले पशुपतिनाथको मुख्य आकर्षणका रुपमा मन्दिर परिसर भित्र र बाहिर मालाहरुको विशेष सजावटको काम गरेको छ । साथै मन्दिर परिसरमा डिजिटल बत्ती, भगवानका चित्रकलाहरु पनि यो वर्षको विशेष आकर्षणका रुपमा हेरिएको छ । जसका लागि पशुपति मन्दिर प्रवेश गर्ने पश्चिम गेटको जाने बाटोमा विशेष गेट बनाउँने काम भईरहेको छ । तर मन्दिरको मुख्य क्षेत्रलाई फूलले सजाउने काम भने शिवरात्रिको अघिल्लो दिन अर्थात मंगलवार मात्र गरिने कोषले जनाएको छ ।

महाशिवरात्रिका लागि भनेर पशुपति क्षेत्रमा १५ लाखको बत्ती र फूलको सजावट गरिएको छ । शिवरात्रिलाई मध्यनजर गदै फुल र बत्तीले पाशुपत क्षेत्र झिलीमिली बनाइने भएको छ ।

यसवर्ष महाशिवरात्रि पर्वमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा पशुपतिनाथकोे दर्शन गर्न करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।

यो वर्ष शिवरात्रिको तयारीका लागि कोषले १ करोड ५० लाख बजेट खर्च हुने अनुमान छ ।

शिवरात्रि पर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अनुगमन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्थाका साथै साधु सन्त तथा धार्मिक कार्यक्रमको व्यवस्थापन गरिएको छ । साथै दशर्नाथीको सुविधालाई मध्यनजर गदै सरसफाइ, जुत्ता चप्पल व्यवस्था, मन्दिर दर्शन व्यवस्थापनलाई पनि ध्यान दिइएको कोषको भनाई छ ।

त्यस्तै दर्शनार्थीको शान्ति सुरक्षाका लागि ७ हजार सुरक्षाकर्मी, ४१ संस्थाका ४ हजार स्वयंसेवक पनि परिचालित गरिने छ । जसमा नेपाल स्काउट, लायन्स क्लब, विश्व हिन्दु युवा परिषद लगायतका ४१ स्वयमसेवी संस्थाहरूका स्वयमसेवीहरू परिचालन हुनेछन् ।

शिवरात्रिका दिन दर्शनार्थीहरुलाई छिटो र सुरक्षित रुपमा दर्शनका लागि मन्दिरको चारवटा ढोका खुल्ला गरिने छ । यस दिन मन्दिरको चारवटा ढोका विहान २ः३० बजे खोल्ने र दर्शन गर्ने व्यवस्था गरिएको छ ।