काठमाडौं: गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताएका छ्न् ।
शुक्रबार काठमाडौँमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधनका क्रममा उनले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्ने बताएका हुन् ।
गृहमन्त्री लेखकले अहिले शिक्षा विधेयक सङ्घीय संसदमा रहेको उल्लेख गर्दै शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको समेत जानकारी दिए ।
उनले कानुनी र नीतिगत सुधार सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई आवश्यक कानुन नीति, निर्माण गरेर संविधानका व्यवस्थाहरूलाई जनतासम्म पुर्याउने काममा सरकार लागिरहेको दाबी गरे ।
उनलेे शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको भन्दै विद्यार्थी र अभिभावकको सर्वोत्तम हितलाई केन्द्रमा राखेर शिक्षकका हित, विद्यालयका कर्मचारीका हित, निजी र आवासीय विद्यालयका हित, सामुदायिक र सार्वजनिक विद्यालयका हितहरूलाई केन्द्रीय भागमा राखेर विधेयक पारित हुने प्रष्ट पारेका छन् ।
साथै वर्षौं वर्षदेखि सदनमा प्रवेश गरेका विधेयकहरू समयमा पास हुन नसकेको उल्लेख गर्दै सङ्घीय संसदमा विचाराधिन शिक्षासम्बन्धी विधेयक चाँडो भन्दा चाँडो पास गर्ने समेत बताए ।


















