१२ वर्षपछि मध्यपुर थिमिमा पुलुकिसी जात्रा

  1. काठमाडौंः भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित नगदेशमा पुलुकिसी जात्रा प्रदर्शन गरिएको छ ।

विगत १२ वर्षदेखि बन्द रहेको ऐतिहासिक यो जात्रा स्थानीय युवाहरूको सक्रियतामा यस वर्ष देखाइएको हो ।

स्वस्थानी व्रतकथामा आधारित पुलुकिसी जात्रा हरेक वर्ष नगदेशमा हुँदै आएको भए पनि विगत १२ वर्षदेखि खर्च व्यवस्थापन गर्न नसकेर जात्राले निरन्तरता पाउन सकेको थिएन ।

काठमाडौ र भक्तपुर नगरमा पुलुकिसी जात्रा इन्द्रजात्राको सन्दर्भमा गरिन्थ्यो भने नगदेशमा स्वस्थानी व्रतकथाको आधारमा गरिँदै आएको छ ।
माघ महिनाभर वाचन हुने स्वस्थानी व्रतकथा अनुसार हात्तीले राजकुमारको रूपमा व्राह्मणपुत्र नवराजलाई छान्ने कथालाई यस पुलुकिसी जात्राले जीवन्तता दिँदै आएको छ ।

राजकुमार छनोट भएको खुशियालीमा भोजभतेर गर्दै नगदेशवासीहरूले यो जात्रा मनाउने गरेको स्थानीयको भनाइ छ ।

विशेषगरी नगदेशका किसान, महर्जन समुदायले यो पर्व मनाउँदै आएका छन् ।

हरेक वर्ष भीमाद्वादशीको दिन यो जात्रा देखाउने परम्परा रहेको छ ।