काठमाडौंः पाथीभरा केबलकारको विरोध गर्दै आएको समूहले पुनः आन्दोलन गर्ने घोषणा गरेको छ।
सोमबारको बिनानिष्कर्ष वार्ता टुङ्गिएसंगै पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।
जारी विज्ञप्तिमा माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैङ्कसहित आईएमई समूहको बहिष्कार गर्ने घोषणा गरेका छन् ।
फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने,काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने लगायतका कार्यक्रम उनीहरूले सार्वजनिक गरेका हुन् ।
केबलकार निर्माणको लागि भएको सम्झौता खारेजीका लागि कोसी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि समावेश भएको विज्ञप्तिमा जनाएको छ ।
साथै, यी कार्यक्रम गर्दा पनि सरकारले अटेर गरे त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गर्ने समेत विज्ञप्तिमा भनिएको छ ।




















