काठमाडौं: गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताएका छन्।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले केबुलकार निर्माणको क्रममा देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटकपटक वार्ता गरेको समेत जनाए ।
उनले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। साथै सरकारले शान्तिपूर्ण ढङ्गले समस्याको समाधान गर्ने कुरालाई गम्भीरतापूर्वक लिएको समेत उनले जनाएका छ्न् ।
उनले समस्याको शान्तिपूर्ण समाधानका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गत माघ २० गते वार्ता टोली गठन गरिएको र उक्त टोलीले आन्दोलनरत पक्षसँग सहजीकरण गरिराखेको समेत उनले जानकारी गराएका छ्न् ।
समस्या समाधानका लागि वार्ताटोलीले पटकपटक संवाद गरेको वार्तामा अवरोध भएपछि पुनः वार्ताको आह्वान गरेको र आन्दोलनरत पक्षले उठाएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले प्रष्ट पारेका छ्न् ।
उनले हाल पाथीभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएर शान्ति सुरक्षा प्रदान गरिरहेको समेत दाबी गरे ।




















