पञ्चकन्या स्टिलसद्वारा धुर्मुस-सुन्तलीविरुद्ध मुद्दा दायर

काठमाडौं: कलाकार तथा सामाजिक अभियन्ताहरू सीताराम कट्टेल ’धुर्मुस’ र उनका श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध मुद्दा दायर भएको छ ।

पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो ।

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि कम्पनीबाट पटक–पटक गरी छड लिएको तर उक्त सामग्रीको रकम हस्तान्तरण नगरेको भन्दै कम्पनीले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छ ।

धुर्मुस–सुन्तलीविरुद्ध लेनदेन कसुरमा मुद्दा दायर भएको बताएको छ । कम्पनीले देवानी मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी रोकिएको उल्लेख गर्दै फिरादपत्र दायर गरेको हो ।

२०७५ माघ १६ गते आर्थिक सहयोग जुटाएर उनीहरूले चन्दामार्फत चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको घोषणा गरेर निर्माणमा हात हालेका थिए ।

रंगशाला निर्माणका लागि सामाजिक सञ्जालबाट चन्दा उठाउनेसहित उनीहरूले भरतपुर महानगरपालिकासहित सरकारी निकायसँग पनि सम्झौताहरू गरेका थिए ।

महानगर र फाउन्डेसनबीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता डा शशांक कोइराला, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित ११ जनाको रोहबरमा स्वामित्व हस्तान्तरणका लागि सम्झौता भएको थियो । सम्झौतामा स्रोत अपुग भएमा आपसी सहमतिका आधारमा स्रोत जुटाई निर्माण कार्य सम्पन्न गर्ने दुवैको दायित्व हुने उल्लेख छ ।

त्यसैबीच कोरोना महामारीका कारण स्थिति बिग्रिएपछि स्रोत जुटाउन नसकेको भन्दै धुर्मुस सुन्तलीले रंगशाला निर्माणबाट हात झिकेका थिए ।