काठमाडौँः ललितपुरको महालक्ष्मी नगरपालिका– ५ टीकाथलीस्थित शान्तीदीप टोलमा बोरिङ खन्दा आगोको ज्वाला निस्किएको छ।
मंगलबार बिहान पौने ९ बजेतिर निस्किएको आगोको ज्वाला दुई घण्टा हुँदा पनि निभेको छैन। पानी हालेर निभाउने प्रयास गरिए पनि ननिभेपछि अहिले आगो बलिरहन दिइएको वडा नम्बर ५ का अध्यक्ष कपिल केसीले बताए।
टीकाथली खानेपानी तथा सरसफाई आयोजनाले खानेपानीका लागि त्यहाँ बोरिङ खनेको थियो। २७५ मिटर बोरिङ खनिएको र त्यहीँबाट आगोको ज्वाला निस्किएको अध्यक्ष केसीले जानकारी दिए।
बोरिङ खनिसकेर अन्तिमचरणको काम गर्दै गर्दा ग्यास निस्किएर आगोको ज्वाला निक्लिएको हो। ‘बोरिङको सबै काम सकेर अन्तिमचरणको सिल कोटेसन भन्छ त्यही सिल गर्नेबेलामा चाहीँ ग्यास निस्किएर आगोको ज्वाला निस्किएको हो’, अध्यक्ष केसीले भने।
उनकाअनुसार ग्यास हिजो–अस्ति पनि देखिएको थियो। आगोको ज्वाला आज बोरिङ सिल गर्दा निस्किएको हो।
ज्वाला निस्किएको ठाउँमा अहिले प्रहरीसहितको टोली पुगेको छ।


















