काठमाडौं: काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेको छ ।
आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध समेत बनेको छ ।
थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले बताएको छ ।
थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ ।
यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न भएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए ।


















