पोखरामा कोटिहोम आयोजक र नगर प्रहरीबीच झडप, केही घाइते 

पोखराः पोखरामा कोटिहोम आयोजक पक्ष र नगर प्रहरीबीच झडप भएको छ भने केही घाइते भएका छन्।

कोटिहोम आयोजक समितिले शुक्रबार बिहान बराहीघाटमा भूमि पूजन कार्यक्रम राखेको थियो। कोटिहोम विराट ज्ञान महायज्ञ गर्नुअघि भूमि पूजन गर्न लागिएको थियो।

पोखरा महानगरपालिकाले कोटिमहोम आयोजनाका लागि अनुमति दिएको छैन। अनुमति विना कार्यक्रम गरेको भन्दै महानगरले रोक्न खोजेको थियो।

त्यही क्रममा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको हो। झडपमा भूमि पूजनका लागि वाराहीघाट पुगेका एक दर्जनभन्दा बढी घाइते भएका छन्।

नगर प्रहरीले लाठी प्रहार गर्दा केही व्यक्ति घाइते भएको कोटिहोम आयोजक संस्था मानव सेवा फाउन्डेशनका संस्थापक विजय कृष्णमूर्तिले बताएका छन्।

वाराहीघाट क्षेत्रमा दुवै पक्षबीच झडप भएको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

विवादित धर्मगुरु कृष्णमूर्तिको अगुवाइमा आउँदो वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरामा कोटिहोम गर्ने तयारी गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कोटिहोमका लागि शुक्रबार भूमि पूजन गर्ने साईत दिएको थियो। त्यसैअनुसार, कोटिहोम आयोजक भूमि पूजन गर्न वाराहीघाट पुगेका थिए।

पर्यटकको आवागमन हुने ठाउँ भएकाले वाराहीघाटमा होटिहोम महायज्ञ लगाउन नहुने महानगरले बताउँदै आएको छ। त्यसका लागि महानगरले अनुमति नदिने जनाएको छ।

यसअघि कोटिहोमको तयारीका लागि भनेर पोखरा क्षेत्रका वरपीपलको रुख काटिएका थिए। त्यसले पनि विवाद सिर्जना भएको थियो। कोटिहोमलाई लिएर पोखरा महानगर र आयोजक पक्षबीच जुहारी चल्दै आएको छ।