काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पार्टीका नेताहरूको घुँडा भाँच्ने र गाउँगाउँबाट लखेट्नुपर्ने बताएका छ्न्।
भक्तपुरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीका नेताहरूका घुँडा भाँच्ने र गाउँगाउँबाट लखेट्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।
प्रसाईंले देश बचाउन राजतन्त्र र हिन्दु राष्ट्र फर्काउनुको विकल्प नभएकाले आफूलाई साथ दिन समेत आग्रह गरे ।
उनले राजाले जसरी रक्तपातविहिन दरबार छाडे त्यसैगरी नेताहरूलाई बालुवाटार र सिंहदरबार छोड्न चेतावनी पनि दिए ।
उनले भने- ‘तिमीहरूले छाडेनौँ भने, राजा र मैले आन्दोलन घोषणा गरेका दिन तिमीहरूको हालत के हुन्छ सोच्नुपर्ने हुन्छ’, उनले फागुन २५ गते पूर्व राजालाई निर्मल निवास पुर्याउने र त्यो शान्तिपूर्ण हुने बताए ।
प्रसाईंले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा समेत अहिले राजतन्त्रको पक्षमा बहस गर्न थालेको बताए ।
उनले नेताहरूको छातीमाथि कुल्चेर राजा आउने भन्दै यो व्यवस्था परिवर्तन गर्न प्रहरीले साथ दिए त्यही दिन प्रहरीको एक लाख तलब बनाउने घोषणा गरे ।
प्रसाईंले आफूले थालेको विद्रोहका कारण ठुला दलका नेताहरू राजतन्त्रबारे बहस गर्न बाध्य भएको बताएका हुन् । उनले आफूले थालेको विद्रोह आगोको झिल्को भएको भन्दै यो झिल्को बढ्दै जाने दाबी गरे ।
उनले पूर्वराजालाई रछ्यानमा फालिसकेको भनेर नेताहरूले गरेको टिप्पणीको कटाक्ष गर्दै अब आफूहरूले दलका नेताहरूलाई रछ्यानमुनि गाड्ने चेतावनी पनि दिए ।
उनले भने- ‘२५ गते राजा आउँदै हुनुहुन्छ । नेपालभरिबाट स्वागत गर्न एयरपोर्ट जाऔँ’, समर्थकलाई आह्वान गर्दै उनले भने,‘अब नेताको घुँडा भाँच्नुपर्छ । गाउँगाउँ र सहर सहरबाट लखेट्नुपर्छ ।’


















