वीरगञ्ज: रौतहटको गरुडा नगरपालिकामा रहेको दसवटा निजी अस्पताल बन्द गर्न मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले निर्देशन दिएका छन् ।
बिहीबार मुख्यमन्त्री सिंहसहितको टोलीले गरुडामा रहेका अस्पतालहरूको अनुगमनको क्रममा ती अस्पतालहरू विधिसम्मत ढङ्गले सञ्चालन नभएकोले बन्द गर्न निर्देशन दिएको हो ।
मुख्यमन्त्री सिंहले ‘रौतहटको गरुडा नगरपालिकाका १० वटा निजी अस्पतालको अनुगमन गरेका थिए ।
सिंहले अनुगमनका क्रममा ती सबै अस्पताल विधिसम्मत ढङ्गले सञ्चालन नभएको बताएका छ्न् । उनले भने ‘त्यसैले ती अस्पताललाई बन्द गर्न निर्देशन दिएको छु ।’
गरुडा नगरपालिका-५ शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, वडा नम्बर(४ गरुडामा रहेको अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप अस्पताललाई बन्द गर्न निर्देशन दिइएको हो ।
मापदण्ड पुरा गरेपछि मात्र अस्पताल सञ्चालन गर्न भन्दै नियम प्रक्रिया नपुगुन्जेलसम्म हस्पिटल बन्द राख्न सञ्चालकहरुलाई पत्र थमाइएको छ ।
मुख्यमन्त्री सिंहले यस अघि चन्द्रनिगाहपुर स्थित अनुगमनको क्रममा १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका थिए ।


















