काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताएका छ्न्।
अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले भने -“लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस मैले गरेको छु ।”
परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवम् सिर्जनात्मक कार्यक्रम आयोजना गर्न जरूरी देखिएको पनि उनले जनाएका छ्न् ।
जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्ने समेत धारणा व्यक्त गरे ।
उनले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् ।
एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिलाको हक, अधिकारको संरक्षण र प्रवर्द्धनको क्षेत्रमा क्रियाशील सबैमा राष्ट्रपतिले सुख, शान्ति एवम् समृद्धका लागि शुभकामना व्यक्त गरेका छ्न्।



















