काठमाडौं: भारतको पुणेमा पुर्याएर नेपाली महिलालाई बेचबिखन गर्ने गरेको खुलासा भएको छ ।
मावन बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा पुणेमा नेपाली महिला बेचबिखन गर्ने गरेको खुलासा भएको हो ।
पुणेमा बेचिएका नेपाली महिलाको उद्धार भएर अहिले दुई जना पक्राउ समेत परेका छन् । ब्यूरोको टोलीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र दुप्चेश्वर–६ का २४ वर्षीय थोकर भनिने सामेबहादुर तामाङलाई पक्राउ गरेको छ ।
उनीहरूलाई आइतबार सार्वजनिक गर्दै ब्यूरोका प्रमुख तथा एसएसपी दीपेन्द्र जिसीले पुणेको कोठीमा नेपाली चेली बेचिएको बताए ।
विभिन्न प्रलोभनमा पारेर चार जानको समूले दुई महिलालाई पुणेमा पुर्याएर बेचेको ब्यूरोको भनाइ छ । यो समूहका दुई जना अझै फरार छन् । फरार हुनेमा एक पुरुष र एक महिला छन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू र पुणेमा बेचिएका महिला पूर्व चिनजाका हुन् । उनीहरू सँगै कन्ट्रक्सनमा लेभरको काम गर्थे । एकै जिल्लाका भएकाले पनि पीडित महिलाहरूले पक्राउ परेका दुई पुरुषलाई सहजै विश्वास गर्ने गरेको ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवरको भनाइ छ ।
त्यसपछि दार्जिलिङ घुम्न जाउँ भन्दै उनीहरूले महिलालाई प्रलोभनमा पारेका थिए । ‘एकै ठाउँका र सँगै काम गर्ने भएपछि पीडित महिलाले सहजै विश्वास गरेको देखिएको एसपी कुँवरले बताए ।
घुम्न जाने, मोबाइल समेत किनिदिने र काम गरेको पैसा समेत दिने भएपछि पीडित महिलाले विश्वास गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
ललितपुरको गोदावरी नगरपालिका–१२ चापागाउँ ठेचोबाट महिलालाई कोटेश्वर ल्याइएको थियो । त्यसपछि उनीहरू गत १८ मंसिरमा वीपी राजमार्ग हुँदै उनीहरू झापा पुगेका थिए ।
झापाबाट इलाम पुगेर एक रात उनीहरूसँगै बसेको ब्यूरोका अर्का एसपी रुगम कुँवरको भनाइ छ । झापाको पशुपतिनगर नाकाबाट भारत छिरेका उनीहरूलाई दार्जिलिङ लगिएको थियो । त्यहाँबाट कोलकत्ता लगिएको प्रहरीको भनाइ छ । कोलकत्ताबाट दिल्ली पुर्याएर १७ दिनसम्म राखिएको प्रहरीको भनाइ छ ।
दिल्लीबाट महाराष्ट्रको पुणेस्थित न्यू बिल्डिङ फुड प्लाजा बुधबारे पठेको रेड लाइट एरियाको कोठीमा पुर्याएर बेचिएको ब्यूरोका एसपी कुँवरले बताए ।
नक्कली नागरिकता बनाएर उनीहरुलाई भारत छिराइएको थियो ।


















