काठमाडौं: स्वामित्वको अधिकार माग गर्दै स्वर्गद्वारी गुठीपीडित मोही किसानहरु ४१ दिनदेखि माइतीघरमा निरन्तर आन्दोलन र धर्नामा छन् ।
धर्ना सुरु भएको लामो समय बितिसक्दा पनि सरकारले माग बेवास्ता गरेको भन्दै उनीहरूले आन्दोलन र धर्नामा बसेका हुन् ।
सरकारसँग दुईपटक वार्ता भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन । गत वर्ष फागुन ७ सम्म करिब एक महिनासम्म दाङमा आन्दोलन भएपछि तत्कालीन सरकारले दुईबुँदे सम्झौता गरेको थियो ।
तर, हालसम्म त्यसको कार्यान्वयन नभएपछि उनीहरू संघीय राजधानी काठमाडौं आउन बाध्य भएको उनीहरुको भनाइ छ । साथै सम्झौता कार्यान्वयन गराउन सम्बन्धित सरकारी निकायहरूमा धाउँदा पनि सुनवाई नभएपछि आफूहरू काठमाडौं आउनुपरेको स्वर्गद्वारी गुठी पीडित मोही संघर्ष समितिकाको गुनासो छ ।
दशकौँदेखि जोतभोग गर्दै आएको जमिनको स्वामित्व नपाउनु किसानका लागि ठूलो अन्याय भएको उनीहरूको भनाइ छ ।जबसम्म भोगचलन गर्दै आएको जमिनको लालपुर्जा प्राप्त हुँदैन, तबसम्म हाम्रो आन्दोलन र धर्ना जारी रहनेछ रहने समेत उनीहरुले जनाएका छ्न् ।
गुठीपीडित किसानहरू विभिन्न मागसहित प्लेकार्ड र कृषि औजार लिएर माइतीघरको सडकमा आन्दोलनमा सहभागी भइरहेका छन् ।



















