काठमाडौँः नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले चीनले दिने ऋण सहयोग बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको दाबी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले देशले राष्ट्रिय आवश्यकता र हितका आधारमा बिआरआईको उपयोग अधिकतम गर्नुपर्ने बताए।
खनालले चीनले आफ्नो विश्वव्यापी प्रभुत्वको लागि बिआरआई ल्याएको हो भनेर पश्चिमी देशहरूले गलत प्रचार गरिरहेको पनि बताए। ‘चीनले आफ्नो विश्वव्यापी प्रभुत्वको लागि बिआरआई ल्याएको हो भन्ने प्रचार भइरहेको छ। यो पश्चिमी संसारको आवाज हो’, उनले भने ‘व्यावहारिक रूपमा हामी बिआरआई प्रयोग गरेर नेपाल वा अन्य देशहरूमा चीनको प्रभुत्वको कुनै प्रमाण र संकेत देख्दैनौंँ।’
खनालले केही मानिसहरूले पोखरा विमानस्थल चीनको ऋणको पासो हो र यसलाई निर्माण गर्नु गल्ती थियो भनेर प्रचार गर्ने गरेको र लुम्बिनी विमानस्थलकोबारेमा पनि यस्तै हल्ला फैल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरे।


















