काठमाडौंः तनहुँमा जंगली च्याउ पकाएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् ।
म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जंगली च्याउ टिपेर ब्यास नगरपालिका–६ शान्तिटोल बस्ने मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा आइतबार राति ल्याएर पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनीहरूको प्रदेश अस्पताल दमौलीमा थप उपचार भइरहेको छ । उनीहरूलाई बान्ता हुने, पखाला लाग्ने तथा रिँगटा लाग्ने जस्ता समस्या देखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

















