काठमाडौं: मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भई विद्यार्थीले लेख्दालेख्दै परीक्षा स्थगित भएको छ ।
आइतबार बिहान साढे ६ बजेबाट सुरु भएको परीक्षा सम्पन्न नहुँदै स्थगन भएको हो ।
‘ग्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत स्नातक तह प्रथम र सातौं समेष्टरको परीक्षा एक्कासी स्थगित भएको हो ।
एमयूमा चैत १८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । सोही निर्वाचनलाई कारण देखाउँदै परीक्षा चलिरहेकै बेलामा स्थगन गरेको हो ।
आइतबार बिहानै विद्यार्थीहरू परीक्षा दिन कक्षामा पुगेका थिए । प्रश्नपत्र र उत्तरपुस्तिका पनि वितरण भई विद्यार्थीले लेख्न थालेको ३५ मिनेटपछि एक्कासी परीक्षा स्थगन भएको सूचना आएको एक विद्यार्थीले बताए ।
आफूहरूलाई पूर्वजानकारी बिना परीक्षा स्थगन गरिनु विश्वविद्यालयको गम्भीर त्रुटि भएको विद्यार्थीहरु बताउछ्न् ।
मध्यपश्चिम विश्वविद्यालय ‘ग्राजुयट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्स’अन्तर्गत सञ्चालित सम्पूर्ण केन्द्रीय विभागका विभागीय प्रमुखहरूको आइतबार बिहान बसेको संयुक्त विभागीय बैठकले परीक्षा स्थगन गरेको जनाएको छ ।



















