अन्तर्राष्ट्रिय सञ्जालको सदस्य बन्यो मिडिया एक्सन नेपाल

काठमाडौं: मिडिया विकास तथा प्रेस स्वतन्त्रताको क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपाल सूचना तथा लोकतन्त्रसम्बधी अन्तर्राष्ट्रिय सञ्जालको सदस्यमा सामेल बनेको छ ।

मिडिया एक्सन नेपालका संस्थापक तथा कार्यकारी निर्देशक लक्ष्मणदत्त पन्तले आधिकारिक रूपमा सूचना तथा लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय नागरिक संस्थाहरुको सञ्जाल ‘कोलिसन अन इन्फर्मेसन एंड डेमोक्रेसी’ मा सामेल बनेको  जानकारी दिएका हुन् ।

कार्यकारी निर्देशक पन्तले मिडिया विकासलाई प्रवर्द्धन गर्ने र प्रेस स्वतन्त्रताको रक्षा गर्ने गहिरो प्रतिबद्धताका साथ अगाडि बढेको संस्थाका रुपमा निरन्तर काम गरिरहदाँ विश्वव्यापी सञ्जालमा समेत सामेल हुन पाउँदा थप उर्जा र  सम्मानित भएको बताए । उनले नेपाल र दक्षिण एसियाबाट हाम्रा अनुभव तथा दृष्टिकोणले लोकतन्त्र र सूचना अखण्डतासम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई थप समृद्ध बनाउने बिश्वास समेत व्यक्त गरे ।

उनका अनुसार सन् २०२१ मा ‘फोरम अन इन्फर्मेसन एंड डेमोक्रेसी (एफआइडी) को नेतृत्वमा स्थापना भएको यस सञ्जालले मिडिया एक्सन नेपालसहित विश्वभरका ६५ वटा नागरिक संस्थाहरूलाई एकत्रित गर्दै, विश्वव्यापी सूचना र सञ्चार क्षेत्रमा लोकतान्त्रिक सुरक्षाका उपायहरू प्रवर्द्धन गरिरहेको छ।

हालसम्म ५५ राष्ट्रहरूले समर्थन गरिसकेको सूचना तथा लोकतन्त्र साझेदारीको कार्यान्वयन निकायका रूपमा एफआइडिलाई डिजिटल सूचना पारिस्थितिकीय प्रणालीको मानवअधिकार र लोकतान्त्रिक संस्थाहरूमा पर्ने प्रभावको मूल्याङ्कन गर्ने तथा नियामक र स्व-नियामक उपायहरू विकास गर्न सहयोग पुर्‍याउने जिम्मेवारी दिइएको छ।

उक्त सञ्जालमा सामेल भएसँगै, मिडिया एक्सन नेपालले सूचना अखण्डता जोगाउने, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने तथा भ्रामक सूचना विरुद्ध लड्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। सन् २०१५ मा स्थापना भएदेखि नै स्वतन्त्र र उत्तरदायी मिडियाको पैरवी गर्दै आइरहेको छ। साथै यो मिडिया विकास, पत्रकार सुरक्षा, र नीति पैरवीका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

एफआइडीका कार्यकारी निर्देशक क्यामिली ग्रेनियरले नेपालबाट सञ्जालमा प्रवेश गर्ने पहिलो नागरिक संस्थाको रूपमा मिडिया एक्सन नेपाललाई स्वागत गरेका छन् ।