काठमाडौंः चितवनको भरतपुरमा १ सय २९ जना भूमिहिन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ।
भरतपुर महानगरपालिका ११ का १ सय १६, वडा नम्बर १५ का ९ र वडा नम्बर २६ का ४ गरी १ सय २९ घरधुरीलाई आज एक कार्यक्रमकाबीच लालपूर्जा वितरण गरिएको हो।
सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताए।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुकुम्बासीलाई जग्गा दिने विषयलाई राजनीतिकरण गर्न नहुने तर्क राखेकी छिन्।
‘सुकुम्बासीलाई लालपूर्जा दिने विषयमा भरतपुरमा कुनै पनि राजनीतिक गन्ध देखिने छैन’, उनले भनिन्, ‘हामी नागरिकप्रति जिम्मेवार छौ। स्थानीय सरकार भरतपुर महानगर जिम्मेवार छ। कानुन, विधि र ऐनअनुसार यो कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु।’
भरतपुरमा महानगरपालिकाको तथ्याङक अनुसार भूमिहिन दलित २ हजार ५२, भूमिहिन सुकुम्बासी ३ हजार ९ सय १७ र अव्यवस्थित ५ हजार २ सय ३७ गरी ११ हजार २ सय ६ जना सुकुम्बासी घुरी रहेका छन्।


















