काठमाडौं: राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आजदेखि राप्रपाको साधारण सदस्य पनि नरहने घोषणा गरेका छन् ।
काठमाडौंको डिल्लीबजारमा आज राजावादी पक्षधरहरूले आयोजना गरेको एक भेलापछि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने- ‘म आजदेखि राप्रपाको साधारण सदस्य पनि रहन्न, राजा ल्याउन लाग्छु।’ साथै उनले राज्य सञ्चालनका लागि राजनीति दलहरू दुवै अटाउन सकुन् भन्ने चाहना रहेको पनि बताए ।
सुवेदीलेद्वारा जारी विज्ञप्ति अनुसार- “देशको शान्ति, स्थिरता, सामाजिक सौहार्दता, धर्म– संस्कृति, परम्परा, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रतीकका रूपमा राजसंस्था अनि नियमित शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीको प्रस्तावलाई दलहरूले तत्काल सम्बोधन नगरेको नेपालका हरेक परिवर्तन आन्दोलनको बलमा हुँदै आएको पृष्ठभूमिमा हामी भने सकेसम्म निश्चित एजेन्डाका साथ प्रस्तुत भएका छौं,” ।
साथै सुवेदीले राजावादीहरूले आफ्ना एजेण्डालाई कमजोरी ठानेर अपव्याख्या गर्न थालिए त्यसको मूल्य महंगो पर्ने चेतावनी समेत दिएका छन् ।
संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका माग उनीहरूको छ ।


















