काठमाडाैं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी पोडकास्टर लेक्स फ्राइडम्यानलाई दिएको अन्तर्वार्तामा पाकिस्तानसँग शान्तिका लागि गरिने हरेक प्रयासले नकारात्मक नतिजा आएको बताएपछि पाकिस्तान आक्रोशित बनेको छ ।
प्रधानमन्त्री मोदीले आफू शान्तिको प्रयासमा लाहोर गएको र सन् २०१४ मा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई शपथ ग्रहण समारोहमा निम्तो दिएको बताएका थिए । पीएम मोदीले भनेका थिए– विश्वमा जहाँ पनि आतंकवादी घटना हुन्छ, यसको स्रोत पाकिस्तानबाट आउँछ।
पाकिस्तानले प्रधानमन्त्री मोदीको यो टिप्पणीप्रति आपत्ति जनाउँदै प्रतिक्रिया दिएको छ । पाकिस्वितानी बिदेश मन्त्रालयले भारतीय प्रधानमन्त्रीको टिप्पणी तथ्यभन्दा बाहिर र एकतर्फी भएको बताएको छ ।
उसले जम्मु कश्मीर विवादलाई विगत सात दशकदेखि समाधान नआए पनि भारतले आफ्नो सुविधा अनुसार छोडेको बताएको छ । भारतले संयुक्त राष्ट्रसंघ, पाकिस्तान र कश्मीरका जनतालाई यो सल्टाउने आश्वासन दिएको बताइएको छ ।
प्रधानमन्त्री मोदीको टिप्पणीलाई अस्वीकार गर्दै पाकिस्तानको विदेश मन्त्रालयले भन्यो, ‘‘भारतले आफूलाई पीडितको रूपमा चित्रण गर्न काल्पनिक कथाहरू सिर्जना गर्दछ तर पाकिस्तानको भूमिमा आतंकवादलाई प्रोत्साहन गरेको आरोपबाट उम्कन सक्दैन ।’’
एकअर्कालाई दोष लगाउनुको सट्टा, भारतले विदेशी भूमिमा आतंकवादी षड्यन्त्र र लक्षित हत्याको आफ्नै रेकर्ड हेर्नुपर्ने पाकिस्तानले बताएको छ । पाकिस्तानले जम्मु र कश्मीर विवादसहित परिणाममुखी वार्ताको वकालत गर्दै आएको मन्त्रालयको दाबी छ ।
अन्तर्वार्तामा मोदीले चीनबारे भने सकारात्मक अभिव्यक्ति दिएका छन् जसलाई चीनको विदेश मन्त्रालयले स्वागत गरेको छ ।


















