काठमाडौं: शिक्षा मन्त्रालयले मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कक्षा १० को अन्तिम परीक्षा एसईई बहिष्कार गर्दैमा कुनै असर नपर्ने स्पष्ट पारेको छ।
मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष चयन प्रक्रियामा असन्तुष्टि जनाउदै मंगलबार परीक्षा बहिष्कारको घोषणा गरेका थिए।
मुख्य मन्त्रीले परीक्षा बहिष्कार घोषणा गरेसंगै शिक्षा मन्त्रालयले परीक्षार्थीलाई तनावमा नलिन र परीक्षामा सहभागी हुन आग्रह गरेको छ।
प्रचलित कानुनअनुसार एसईई सञ्चालन र व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई छ। परीक्षा भोलि बिहीबार सुरु हुँदैछ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मधेशका मुख्यमन्त्रीले बहिष्कार गर्दैमा परीक्षामा कुनै असर नपर्ने प्रष्ट पारेका छ्न्। उनले भने- ‘परीक्षाको सम्पूर्ण जिम्मेवार प्रदेश सरकारले पाएका छन्। त्यसैअनुसार काम भइरहेको छ। परीक्षा नहुने भन्ने कुरै छैन।’
मुख्यमन्त्री सिंहको ‘परीक्षा बहिष्कार’ को अभिव्यक्तिपछि शिक्षामन्त्री विद्या भट्टराईले चासो र चिन्ता व्यक्त गरेकी छन्। प्रवक्ता सापकोटाले मधेश प्रदेशमा परीक्षाको विषयमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सँग समन्वय भइरहेको जनाएका छ्न् ।
जकपुर उपमहानगरपालिका अन्तर्गतको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुपका प्रधानाध्यापक सञ्जय झा एसईईको तयारी पूरा भएको बताएको छ ।
एसईई चैत ७ देखि १९ गतेसम्म देशभरका २ हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन हुनेछ। शिक्षा मन्त्रालयका अनुसार परीक्षा गत वर्षभन्दा ४९ हजार २८६ विद्यार्थी थपिएका छन्। परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १४ हजार ७१ पुगेको मन्त्रालयले जनाएको छ।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र अन्य पाठ्यक्रमका विषयहरूको परीक्षा हुनेछ भने चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी २ दिनमा ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुनेछन् ।


















