चार देशमा पर्यटन विस्तार छलफल गरेर फर्किए पर्यटनमन्त्री

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी, फ्रान्स, थाइल्यान्ड र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी बुधबार फर्किएका छन् ।

भ्रमणका क्रममा मन्त्री पाण्डे नेतृत्वको टोलीले सम्बन्धित देशका उच्च अधिकारीसँग भेटवार्ता गरी पर्यटन प्रवद्र्धन, संस्कृति आदानप्रदान, हवाई सेवा विस्तार, जर्मनीमा रहेका ऐतिहासिक हस्तलिखित ग्रन्थ फिर्ता ल्याउने तथा धार्मिक पर्यटन सञ्जाल निर्माण लगायत विषयमा छलफल गरेका थिए ।

उनलाई बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट’ हिमालयन क्षेत्रबाट ‘टुरिज्म मिनिस्टर अफ द इयर’ अवार्ड प्रदान गरिएको थियो ।

भ्रमण क्रममा उनले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य सहित विभिन्न साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गरेका थिए ।
मन्त्री पाण्डेले जर्मनी र फ्रान्समा पर्यटन व्यवसायी, लगानीकर्ता तथा नेपाली समुदायसँग भेटघाट गरी नेपालमा पर्यटन पूर्वाधार तथा लगानीका सम्भावनाबारे जानकारी गराएका थिए ।

थाइल्याण्ड र कम्बोडियामा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका विषयमा छलफल गर्दै ती देशसँग आपसी सहकार्य विस्तार गर्न पहल गरेका थिए ।