स्केमिक स्ट्रोकको उपचारमा प्रयोग हुने थ्रोम्बोलाइटिक औषधि ‘अल्टिप्लेज’ तीन अस्पतालमा वितरण प्रक्रिया शुरु

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रयासमा अमेरिकी सहयोगी संस्था डाइरेक्ट रिलिफले मस्तिस्कघात (स्केमिक स्ट्रोक)को उपचारमा प्रयोग हुने ८०० भाइल थ्रोम्बोलाइटिक औषधि ‘अल्टिप्लेज’ निःशुल्क उपलब्ध गराएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा डाइरेक्ट रिलिफको नेपाल प्रतिनिधी संस्था ‘वन हार्ट वर्ल्डवाइड’ का कार्यकारी निर्देशक सुर्य भट्ट्ले मन्त्री पौडेलको उपस्थितिमा व्यवस्थापन महाशाखाका निर्देशक पवनजंग रामाझीलाई हस्तान्तरण गरेका हुन्।

अल्टिप्लेज इन्जेक्सन स्केमिक स्ट्रोक भनिने मस्तिष्कघात भएका बिरामीलाई सघन रूपमा प्रदान गरिने एक थ्रोम्बोलाइटिक औषधि हो। यो औषधी स्ट्रोक भएको चार घण्टाभित्र औषधि बिरामीलाई प्रदान गरिसक्नुपर्छ। यो औषधी एक भायलमा २० मिलिलिटर रहेको हुन्छ। हालको डलर मूल्यअनुसार यसको मूल्य नेपाली रुपैयाँ करिव ७० हजार पर्ने जनाइएको छ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधी सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताए। उनले भने, ‘निकै महँगो औषधी किनेर दिन गाह्रो परेको थियो ‘कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं। अहिले औषधी उपलब्ध भएको छ।’

हाल यो औषधी वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए।

डाइरेक्ट रिलिफले सरकारको मागका आधारमा पाँच वर्षसम्मका यस्तो औषधी उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको छ ।