काठमाडौं: परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन् ।
भारतको भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री राणाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि भारतले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी हुन् ।
अहिले नेपाल सरकारसँग भारतीय निकायहरू जोडिरहेको भन्दै उनले सरकार नै परिवर्तन गर्ने आशय नदेखेको बताइन् ।
राणाले भारतमा रहँदा भारतलगायत अन्यदेशका विदेशमन्त्रीहरूसँग द्विपक्षीय हित तथा आपसी चासोका विषयमा छलफल भएको जानकारी दिइन् ।
नेपाल र भारतका संयन्त्रहरूलाई पनि थप क्रियाशील बनाउने र द्विपक्षीय सहयोगलाई अझ मजबुत बनाउने विषयमा समेत छलफल भएको जानकारी गराइन् ।
उनले नेपालमा देखिएको विद्युत् अभावको समाधानका लागि पनि कूटनीतिक प्रयास गरेको र नेपालमा आपूर्ति हुने विद्युत्को परिमाणमा वृद्धि गर्न अनुरोध गरेको समेत बताइन् ।

















