काठमाडौं: सर्वोच्च अदालतले स्वास्थ्य सचिव नियुक्तिको विषयमा मन्त्रिपरिषदले गरेको निर्णयको फाइल झिकाउने आदेश दिएको छ।
सर्वोच्चमा शुक्रबार भएको सुनुवाईपछि न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले सचिव नियुक्तिको निर्णय फाइल झिकाउने आदेश दिएको हो।
गत फागुन २१ गतेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि सचिवमा आफूलाई नियुक्त नगरेको भन्दै डा. संगीता कौशल मिश्राले चैत १ गते सर्वोच्चमा रिट हालेकी थिइन्।
उनको रिटमा ३ गते प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालले सरकारका नाममा कारण देखाउ आदेश गर्दै अन्तरिम आदेशका विषयमा छलफल गर्न शुक्रबारलाई पेशी तोकेका थिए। सोही मुद्धामा शुक्रबार भएको सुनुवाईपछि फाइल झिकाउने आदेश दिएको हो।
शुक्रबारको सुनुवाईपछि अदालतले अन्तरिम आदेश भने दिएको छैन।


















