१६ सय ३६ किलो गाँजासहित झापाबाट दुई जना पक्राउ

काठमाडौं: सशस्त्र प्रहरी बलले १६ सय ३६ किलो गाँजासहित झापाबाट दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले १६ सय ३६ किलो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका-४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो।

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १-०२-००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरी बलका अनुसार पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका-४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका-२ का गङ्गाबहादुर बस्नेत रहेका छन्।

प्रहरीले जाँच गर्दा ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो। प्रहरीले उनीहरूको साथबाट ८७ हजार रुपैयाँ र पाँच थान मोबाइल समेत बरामद गरेको छ।

उनीहरूलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।