काठमाडौंः विश्व म्याराथनको २०८२ जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले बताए।
यही जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दूत टीएस ठकुरीले बताए। जेठ २१ र २२ गते (जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ।
कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो। यसअघि एशियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भएका थिए।
निरन्तर लबिङ पश्चात एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको एम्स दुत रहेका नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए।
‘एम्सको बोर्ड बैठक नेपालमा बस्नु भनेको समग्र देशको पर्यटनका लागि खुशीको खबर हो, ’ नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भने, ‘यसले नेपालका बारेमा विश्वव्यापी प्रचार प्रसार हुनेछ। साथै नेपालका रेस आयोजकलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न, दौडको विश्वव्यापी अभियानसँग परिचित हुन र केही सिक्न सुवर्ण अवसर समेत प्रदान गर्नेछ।’
एम्सले संसारभर वल्र्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरुको नियमन तथा प्रवद्र्धन गर्दछ। एम्सको सन्जाल एक सय बीस देशमा छ। करिब ४ सय ५० रोड रेस आयोजक यसका सदस्य छन्। संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ।
एम्सको बोर्ड मिटिङका लागि आतिथ्यता गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन्।
स्पेन निवासी बोराओ विश्वकै राम्रो र उत्कृष्ट कोर्ष मानिने भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन्। एम्सको बोर्ड बैठकमा करिब डेढ दर्जन राष्ट्रको प्रतिनिधित्व हुनेगरी सहभागिता रहनेछ। नेपालगन्ज म्याराथनले सोही अवसरमा आयोजना गर्ने अन्य बिशेष कार्यक्रममा कुल दुई दर्जन देशका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरेको छ।


















