अहिले गणतान्त्रिक मोर्चा आवश्यक नभएको नेपाली कांग्रेसको ठहर

काठमाडौं: नेपाली कांग्रेसले तत्कालका लागि गणतान्त्रिक मोर्चा आवश्यक नभएको ठहर गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले गणतन्त्रका पक्षमा संसद् र नागरिकको अधिकांश तप्का प्रतिबद्ध रहेको भन्दै गणतन्त्रवादीले मोर्चा खडा गर्नु नै आवश्यकता नरहेको निष्कर्ष निकालेको हो ।

प्रवक्ता प्रकाशशरण महतले भने- “निर्वाचित सार्वभौम संविधानसभाले जारी गरेको संविधानमा प्रतिबद्धता जाहेर गर्‍यो, संविधानभित्रैबाट जनताका आकांक्षा सम्बोधन गर्न सकिन्छ र गर्नुपर्छ भन्ने निर्णय भयो, “जुन किसिमबाट अहिले संविधानको खिलाफमा बहस गरिँदैछ, त्यसबारे हाम्रो धारणा राखिएको हो, जनतामा केही असन्तुष्टि छन् भने संविधानभित्रैबाट सम्बोधन गर्न सकिन्छ ।”

प्रधानमन्त्रीसहित विपक्षी दलका नेताले राखेको गणतान्त्रिक मोर्चा आवश्यक नभएको उनको भनाइ थियो । “सत्तापक्षका दल मात्र होइन प्रतिपक्षमा रहेका समेत दलको गणतन्त्रमा प्रतिबद्धता छ,” महतले भने, “जुन कुरामा विवाद नै छैन त्यसमा मोर्चाबन्दीको आवश्यकता हुँदैन ।”

उनले अहिले असन्तोष जाहेर गरिरहेका पार्टीलाई पनि संविधानभित्रै रहेर समाधानको प्रयास गर्न सुझाव दिने निर्णय भएको जानकारी दिए ।