काठमाडौं: नेपाल नेत्रज्योति संघको संजाल मार्फत एक बर्षमा ३४ हजार भन्दा बढि आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ ।
संघको देशैभरी छरिएर रहेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत सन् २०२४ मा ३४ हजार ४ सय २५ जना आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको हो ।
संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार संघद्धारा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुको सहयोग तथा अस्पतालहरुको आन्तरिक श्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।
उहाँका अनुसार संघको सञ्जाल मार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीहरुको आँखा परिक्षण गरि २ लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघ अन्तर्गतका अस्पतालहरुले प्रवाह गर्ने गुणस्तरिय सेवाकै कारण छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगाएका मुलुकका नागरिकहरु समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् ।
महासचिव चन्दका अनुसार सन् २०२४ मा मात्र संघको संजाल मार्फत ९ लाख ७ हजार ७१ जना अन्य देशका नागरिकहरुको आँखा परिक्षण गरि १ लाख ६२ हजार ८४५ जना बिरामीहरुको शल्यक्रिया गरिएको छ ।
‘नेपालको आँखा उपचारको गुणस्तरियताका कारण अन्य देशका नागरिकहरु समेत नेपालमा आँखा उपचार गराउने क्रम बढ्दो छ’ महासचिव चन्दले भने ‘अब हामीले बढि भन्दा बढि नेपाली नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने गरी नेपाल सरकारसंगको समन्वयमा आफ्ना योजना र कार्यक्रमहरु अगाडी बढाएका छौ ।’
नेपालमा आँखा उपचारको क्षेत्रमा धेरै विकास भएता पनि अझै पनि धेरै नेपालीहरु आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा उपचारबाट बन्चित बनेका संघका अध्यक्ष प्रा.डा.चेजराज पन्त बताउछन्।
संघका स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।


















