पत्रकार महासङ्घद्वारा सञ्चारकर्मी रजकको हत्याविरुद्ध बिरोध प्रदर्शन

काठमाडौं: शुक्रबार पूर्वराजा समर्थकको विरोधप्रदर्शनका क्रममा जलेर एक पत्रकारको निधनको विरोधमा पत्रकार महासंघले माइतीघर मण्डलामा बिरोध कार्यक्रम गरेको छ।

नेपाल पत्रकार महासङ्घको अगुवाईमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषी माथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको हो।

पत्रकार महासङ्घका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको थियो।

राजावादीको उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन रजकको निधन भएको हो ।