काठमाडौं: तीनकुने घटनामा जिउँदै जलाइएका एभिन्यूजकर्मी पत्रकार सुरेश रजकको मृत्यु शंकापस्द भएकाले निष्पक्ष छानबिनको माग भइरहेकोे छ ।
एभिन्युज खबरका अनुसार राजावादीले यही चैत १५ गते राजधानीको तीनकुनेमा आयोजना गरेको कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न तीनकुने पुगेका सुरेशसँग मास्टर कन्ट्रोल रुममा दिउसो २ बजेर ३१ मिनेटसम्म भाइवरमा सम्पर्क भएको थियो ।
आगलागी भएको घरको चौथो तलामा पुगेका सुरेशले २ बजेर १९ मिनटमा म्यासेज गरेका थिए । ‘माथि पुलिस छ, उनीहरूलाई हान्न जान लागेको छ,’ उनको म्यासेजमा लेखिएको थियो ।
एभिन्युज टेलिभिजनका अनुसार, एमसीआरबाट सम्पर्क गर्न प्रयास गरिएको थियो, तर सम्पर्क हुन सकेन । २ बजेर २४ मिनेटमा सुरेशले फेरि म्यासेज गरेर भने, ‘कल गर्नु त नेटवर्कले काम गरिराखेको छैन। फोन उठाएको हो ‘बट’ भनेर सुरेशको म्यासेज आएपछि एमसीआरबाट म्यासेज जान्छ, ‘ओके’ कल हामी गर्छौँ, तिमी नगर, उताबाट जवाफ आउँछ, नेटवर्कले गर्दा उठ्दैन के गर्ने? ओके त्यसपछि एमसीआरले २ बजेर ३१ मिनेटमा म्यासेज गर्छ, तिमी बसेको घरमा आगो लाग्यो । भाग त्यताबाट । यसपछि सुरेशसँग एमसीआरको सम्पर्क टुट्छ ।”
यो म्यासेजबाट सुरेश सङ्कटमा छ, भन्ने लागेर एभिन्यूजको टोली घटनास्थल पुगेको तर
घटनास्थल पुग्दा आगो निभिसकेको थिएन, टेलिभिजनको भनाई छ ।
जति बेला दमकल आएर आगो निभायो, त्यति बेला सम्म निकै ढिलाभैसकेको थियो । सुरेश जिउँदै जलाइए उनको साथमा रहेको क्यामरा र एउटा मोबाइल हराएको छ । एउटा मोबाइल जलेर डल्लो परेको अवस्थामा भेटिएको थियो । कर्म गरिरहेका सुरेशलाई जिउँदै आगो लगाएर मारिनु र उनको साथमा रहेको क्यामरा र मोबाइल गायब हुनु हत्या भएको हो भन्ने शङ्काको पुष्टि भएको एभिन्युज टेलिभिजनको दाबी छ ।
सुरेश हत्या प्रकरणको निष्पक्ष छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्न सरकार समक्ष एभिन्यूजले खबर जोडदार माग गरेको छ ।


















