काठमाडौं: वरिष्ठ मनोचिकित्सक तथा त्रिभुवन शिक्षण अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्रा.डा. सरोज प्रसाद वझाद्वारा लिखित ‘मनोस्वास्थ्य’ पुस्तक विमोचन गरिएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि वझाद्वारा लिखित ‘मनोस्वास्थ्य’ पुस्तक विमोचन गरिएको हो ।
पुस्तकको विमोचन सर्वोच्च अदालतका पुर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ सहित वरिष्ठ मनोचिकित्सकहरुले गरेका थिए ।
डा. वझाले आफ्नो २५ वर्षको अभवलाई समेटेर पुस्तक लेखेका हुन् । पुस्तक सामान्य भाषामा सबैले बुझ्ने गरि लेखिएको छ ।
डा. वझाले मानसिक समस्या किन हुन्छ ? यस्को अवस्था, समाधान र मानसिक समस्यामा परेका बिरामीहरुको भोगाइ लगायत विशेष पुस्तकमा समेटेका छन् ।
विमोचन कार्यक्रममा बोल्दै उनले १० महिना लगाएर पुस्तक लेखेको र पुस्तक लेखनका लागि प्रोत्साहन गर्ने आफ्नी स्वर्गीय आमा प्रती कृतज्ञता पनि प्रकट गरे ।
यसैगरी, विमोचन समारोहमा बोल्दै पुर्व प्रधान न्यायधिश श्रेष्ठले हाम्रो समाजमा जगडिएर बसेको मानसिक स्वास्थ्यका समस्या पहिचान गर्न र विरामीलाई अस्पतालसम्म पुग्ने वातावरण निर्माणका लागि पुस्तक महत्त्वपूर्ण हुने विचार व्यक्त गरे ।
कार्यक्रममा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा.मोहन शर्माले पुस्तक लेखन कार्य सहज नभएको बताए । साथै पुस्तक सरल भाषामा लेख्नु कठिन भएको बताउदै डा. ओझाले सबैले बुझ्ने भाषामा पुस्तक लेख्न सफल भएको धारणा व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा हाँस्यकलाकार मनोज गजुरेलले पछिल्ला दिनमा समाजिक सञ्जालमा भाइरल बन्ने प्रवृति हावी भएको बताउँदै यसको लतबाट बच्न नसके यसले पनि मानसिक समस्या बढाउँन सक्ने विचार व्यक्त गरे ।
कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य, वरिष्ठ मनोचिकित्सक डा. देशराज कुवर लगायत मानसिक रोग विज्ञहरु र चिकित्सा क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।
इटर्नल पब्लिकेसनले प्रशसन गरेको ‘मनोस्वास्थ्य’ पुस्तकको मूल्य ५०० तोकिएको छ ।



















