आइतबार घट्यो सेयर बजार

काठमाडौं: अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आइतबार घटेको छ ।

साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।

बजार खुलेदेखि निरन्तरजसो घटिरह्यो । बैंकहरूले आजै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि लगानीकर्ता सशंकित बनेका हुन् । बैंकहरूको नाफा सामान्य १.४ प्रतिशत बढेको छ ।

तर त्यो नाफा वृद्धि बिजनेस बढेर नभई राष्ट्र बैंकबाट पाएको सहुलियतका कारण लोन लस प्रोभिजन घट्दा आएको हो । अर्कोतर्फ साँवा, ब्याज असुलमा बैंकहरू अझै कमजोर देखिएका छन् । यसले गर्दा औसत निष्क्रिय कर्जा बढेको छ ।

बैंक तथा वित्तीय संस्थाका सेक्टर नै सेयर बजारमा शक्तिशाली छन् । बैंक तथा वित्तीय संस्थाको वित्तीय रिपोर्ट कमजोर आएपछि अरु सेक्टरका कम्पनीको विवरण पनि खस्किन सक्ने अनुमान लगानीकर्तामा छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थामा मात्रै नभई अरु सेक्टरमा पनि आज असर देखियो ।

वित्तीय विवरणबाहेक विभिन्न पक्षको आन्दोलनले पनि आइतबारको बजारलाई प्रभाव पार्‍यो । आज नेप्से परिसूचक मात्रै घटेन, कारोबार रकम पनि घटेको छ । बिहीबार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ४३ करोडको भयो ।

५३ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो भने एउटाको स्थिर रह्यो । बैंकिङ, विकास बैंक, फाइनान्ससहित अधिकांश सेक्टर घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक ०.७९, फाइनान्स १.२७, होटल तथा पर्यटन १.३६, हाइड्रोपावर १.२२, जीवन बीमा ०.८७, लगानी ०.०६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.२२ र अन्य १.०३ प्रतिशत घटे ।