पत्रकार ज्योति शाहले उपचार नेपालमा गरेमा सहयोग गर्ने स्वस्थ्य मन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले  भारतमा उपचारर्थ पत्रकार ज्योति शाहलाई नेपालको स्वास्थ्य संस्थामा उपचार गरेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

बुधवार पत्रकार महिलाहरुले भेटी पत्रकार ज्योति शाहको उपचारमा सहयोग गर्न अनुरोध गरेपछि मन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।

मन्त्री पौडेलले विदेशमा उपचार गर्न जानेको हकमा उपचार सहयोग गर्न नमिल्ने तर नेपालकै स्वास्थ्य संस्थामा उपचार गर्ने नीति रहेकोले शाहलाई बाँकी उपचार नेपाल आएर गरेमा निजी र सरकारी दुवै अस्पतालमा उपचारको लागि पहल गर्ने बताए । ‘विदेशमा उपचार गर्नेको हकमा सहयोग गर्न नियमले नै दिंदैन, नेपालमा आएर उपचार गरेमा म पहल गर्छु’ उनले भने । नेपालमा आएमा निजी र सरकारी दुवै अस्पतालमा नि:शुलक उपचारकोलागि पहल गर्ने उनको भनाइ छ ।

पत्रकार शाह विगत केही महिनादेखि स्तन क्यान्सरले पीडित बनेकी छिन । स्तन क्यान्सरको कारण भारतमा उपचार गरिरहेकी पत्रकार शाहको उपचारमा सहयोगको पहल गर्न पत्रकारहरु पवित्रा सुनार, निमा काफ्ले,लोगसरी कुँवर र देवकी बिष्ट मन्त्रालय गएका थिए ।