काठमाडौं: प्रिमियम मूल्य र बुक बिल्डिङ विधिबाट साधारण सेयर (आईपीओे) निष्कासन विवाद बढेपछि नियामक नेपाल धितोपत्र बोर्डले अहिले रोकेको छ ।
प्रिमियममा सेयर निष्कासन रोकेको यही मौकामा आईपीओे निष्कासन तयारीमा रहेका केही कम्पनीका सञ्चालकहरूले धितोपत्र बोर्डको स्वीकृतिविनै भित्रभित्रै प्रिमियम दर लिएर सेयर बिक्री गरिरहेको खुलेको छ ।
धितोपत्र बोर्डको स्वीकृतिबेगर नै प्रिमियम मूल्यमा धमाधम सेयर बेच्नेमा धेरैजसो जलविद्युत् कम्पनीका सञ्चालकहरू रहेको पाइएको छ ।
अंकित मूल्यमा यति प्रिमियम थपेर आईपीओे निष्कासन गर्न भन्दै ति कम्पनीका सञ्चालकहरुले पछि महंगो हुने र अहिले किन्दा सस्तोमा दिने भन्दै धमाधम प्रिमिमय मूल्यमा लगानीकर्तालाई सेयर बिक्री गरिरहेको पाइएको छ ।
कतिपय कम्पनीको राम्रो वित्तीय विवरण देखाएर १ सय रुपैयाँ अंकित मूल्य भएको कम्पनीको सेयर २ सय रुपैयाँ बढी मूल्य लिएर भित्रभित्रै बिक्री भइरहेको उजुरी धितोपत्र बोर्डमा पुगेको छ ।
बोर्डले प्रिमियममा आईपीओे निकाल्ने भन्दै अग्रिम रुपमा बढी मूल्य लिएर सेयर बिक्री भइरहेको उजुरी आएको बताएको छ ।
ति कम्पनीका सञ्चालकहरूले प्रिमियममा आईपीओे निष्कासन गर्ने भन्दै पछि सेयर मूल्य बढेर धेरै माथि पुग्ने आश देखाएर बोर्डको स्वीकृतिविनै अहिले धमाधम पैसा उठाएको पाइएको छ ।
धितोपत्र निष्कासन नियमावलीअनुसार बोर्डको स्वीकृति बेगर बढी मूल्य लिएर सेयर बेच्न पाइँदैन ।
यता प्रिमियम र बुक बिल्डिङ विधिबाट आईपीओे निष्कासन प्रक्रिया विवादित बनेपछि अहिले रोकिएको छ ।


















