काठमाडौं महानगरपालिकामा आज शोक बिदा

काठमाडौंः काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज शोक बिदा दिएको छ ।

महानगरको प्रशासन विभागले सूचना जारी गदै आइतबार शोक बिदा दिएको जानकारी दिएको हो ।

उपप्रधानपञ्चका रूपमा उनले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवद्र्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पु¥याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको हो ।

जसअनुसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहेको छ ।

स्वर्गीय डंगोलको हिजो टेकुमा अन्त्येष्टि भइसकेको छ । पूर्व स्वास्थ्य राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डंगोलको गत शुक्रवार निधन भएको थियो ।

२००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।