वर्षाको सम्भावना मंगलबारसम्म

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षाको सम्भावना आगामी मंगलबारसम्म रहेको जनाएको छ ।

आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने विभाग जनाएको हो ।

विभागका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेकोे छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव छ । यी सबैको संयुक्त प्रभावले वर्षा गराएको हो ।

बागमती प्रदेशका चितवन, काठमाडौं, ललितपुर लगायतका केही जिल्लाहरुमा असिनासमेत परेको छ ।

सोमबार र मंगलबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको बिभागले जनाएको छ ।

त्यस्तै, मङ्गलबार लुम्बिनी प्रदेशमा पनि हल्का वर्षा हुने प्रक्षेपण छ । हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ ।

साथै मेघगर्जन र चट्याङ पर्ने सम्भावना पनि भएकाले  सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ ।