काठमाडौं: देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सोमबारको तुलनामा केही कम वर्षा हुनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजोको तुलनामा आज केही कम वर्षा हुनेछ । तर, स्थानीय र पश्चिमी वायु सक्रिय हुँदा ठाउँठाउँमा वर्षाको सम्भावना रहेको छ ।
काठमाडौंमा पनि आज अपराह्नपछि वर्षाको सम्भावना रहेको छ । दिनभर बदली हुने र अपराह्नपछि वर्षा हुने विभागले जनाएको छ ।
अपराह्न २ बजेपछि सुरु भएर ६ बजेभित्रसम्म काठमाडौंमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने छ । तर तुलनामा काठमाडौंमा भोलि ठूलो वर्षा हुनेछ ।
दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेश थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ ।
विभागका अनुसार राति कोसी र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



















