राष्ट्रपति पौडेलले भने- न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आमनागरिकको सहज पहुँच पुग्नुपर्ने बताएका छन् ।

कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

“नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्छ,’ उनले भने, ‘मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादनमा जोड दिइनुपर्छ ।”

उनले विधिको शासन कायम गर्न तथा न्यायिक मूल्य-मान्यतामा क्षयीकरण हुन नदिन न्यायालयको जनआस्था बढाउनु पर्ने बताएका छन् ।

कानुन दिवसमा शुभकामना दिँदै राष्ट्रपतिले भने-“विधिको शासन कायम तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् ।”

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको उनले चर्चा गरे ।