अमेरिका र चीन ९० दिनका लागि ११५ प्रतिशत भन्सार दर कम गर्न सहमत

काठमाडौँः अमेरिका र चीनबीच नयाँ व्यापार सम्झौता भएको छ ।

स्वीजरल्याण्डको जेनेभामा भएको उच्चस्तरीय वार्तामा अमेरिका र चीन ९० दिनका लागि नयाँ भन्सार दर स्थगित गर्न सहमत भएका छन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौता अन्तर्गत ११५ प्रतिशत भन्सार दर ९० दिनका लागि स्थगित गर्न सहमत भएको जानकारी दिएका हुन् ।

त्यस्तै चिनियाँ वाणिज्य मन्त्रालयले पनि अमेरिकाविरुद्ध गत अप्रिल २ देखि लगाइएको भन्सार दर ९० दिनका लागि स्थगित गरिएको जानकारी गराएको छ ।

नयाँ सहमति अनुसार अमेरिकाले चीनलाई हाल लगाएको १४५ प्रतिशत भन्सार दर घटाएर ३० प्रतिशत गर्ने भएको छ भने चीनले अमेरिकालाई लगाएको १२५ प्रतिशत कर घटाएर १० प्रतिशत गर्न सहमत भएको छ ।

साथै दुवै देश व्यापारसम्बन्धि थप वार्ता गर्न समेत सहमत भएको दुवै देशले जारी गरेको संयुक्त व्यक्तव्यमा उल्लेख गरिएको छ ।